नेपालगञ्जमा ट्राफिक लाइटको नियम: सुधार हुँदै सडक व्यवस्थापन
बाँके,२१ माघ । नेपालगञ्जमा पहिलो पटक ट्राफिक लाइटको नियम लागू भएपछि सडक व्यवस्थापनमा सुधार देखिएको छ।
धम्बोझी चोकमा ट्राफिक लाइट जडान भएपछि सवारी चालक र यात्रुहरूले नियम पालना गर्न थालेका छन्।
सुर्खेतबाट नेपालगञ्ज आएका प्रवीणकुमार गिरीले ट्राफिक लाइटको अनुभव सुनाउँदै भने, “सुरुमा गाडी रोकिएको देख्दा दुर्घटना भएको हो कि भन्ने लाग्यो, तर ट्राफिक लाइटको नियमले गर्दा पो रोकिनु परेको रहेछ।” ई–रिक्साका कारण अस्तव्यस्त हुने गरेको नेपालगञ्जको सडकमा ट्राफिक लाइट लागू भएपछि व्यवस्थापनमा सहयोग पुगेको उनले बताए।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले ट्राफिक लाइटको नियम लागू भएपछि सहर व्यवस्थित भएको बताए। पहिला जहाँबाट मन लाग्यो त्यतैबाट बाटो काट्ने बानी थियो, तर अहिले सडकमा नियमअनुसार हिँड्नुपर्ने चेतना आएको उनले बताए।
ट्राफिक नियम लागू भएपछि विद्यालय जाने विद्यार्थीहरुलाई समयमै पुर्याउनका लागि अभिभावकहरूले आधा घण्टा अगाडि नै घरबाट निस्कन थालेका छन्।
बाँकेमा पहिलो पटक ट्राफिक लाइटको नियम लागू भएको हो। गत पुस २८ गतेदेखि यो नियम लागू भएपछि सवारी चालक र यात्रुहरूले यसको पालना गर्न थालेका छन्। अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले सुरुमा जरिवाना भन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोगबारे जानकारी गराउन प्राथमिकता दिएको बताए। विशेषगरी महिला र ग्रामीण भेगबाट आउने सवारी साधन चालकहरूलाई यो नियम बुझाउन केही कठिनाइ भएको उनको भनाई छ।
नियम पालना नगर्ने केही सवारी चालकलाई जरिवाना गरिएको छ। ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट रु चार हजार राजस्व सङ्कलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइटको नियम लागू भएपछि धम्बोझीदेखि विपी चोकसम्म हुने दुर्घटनामा कमी आएको छ। पहिला हप्तामा आठ-दश वटा सामान्य दुर्घटना हुने गरेकोमा अहिले यो नियम लागू भएपछि दुर्घटना कम भएको छ। नियम उल्लंघन गर्ने १६५ जनालाई रातो बत्तीमा कारबाही गरिएको छ भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ।
