रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता

चितवन, २२ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीहरु विरुद्ध ठगी तथा संगठित अपराधको अभियोगमा मुद्दा दर्ता गरिएको हो।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोगपत्र आज दर्ता गरिएको हो ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए, तर त्यसमा रवि लामिछानेको नाम किटान गरिएको थिएन। आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाइएको छ।

मुद्दामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ प्रतिवादी रहेका छन्।
यस्तै, साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीहरू गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालिलाई पनि मुद्दामा समावेश गरिएको छ।

पुरक निवेदन दिने १० जनाका अनुसार साहरा सहकारीबाट ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ बिगो रकम फिर्ता पाउनुपर्ने मागदाबी गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनमा दुवै निवेदन अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको उल्लेख छ।