सरकारले गर्याे अबुधाबीबाटै श्रम स्वीकृति दिने व्यवस्था, वैदेशिक रोजगारीमा सहजता
काठमाडौं, फागुन २ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था सुरु गरेको छ। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो सेवाको शुभारम्भ गर्नुभयो।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवाहरूलाई सहज र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो। राजदूतावासबाटै श्रम स्वीकृति दिने व्यवस्थाले श्रमिकहरू लाभान्वित हुने, नेपाल गइरहनुपर्ने झन्झट हट्ने र आफ्नो पेसालाई निरन्तरता दिन सहज हुने उहाँको भनाइ थियो।
मन्त्री भण्डारीले यो व्यवस्था अन्य दूतावासहरूमा पनि क्रमशः लागू गरिने बताउँदै वैदेशिक रोजगारीमा रहेको ठूलो युवाशक्ति र विप्रेषणको महत्त्वलाई मध्यनजर गर्दै सरकारले श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समय अनुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै अनलाइन श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि श्रमिकहरूलाई सहज हुने बताउनुभयो। उहाँले अबुधाबीस्थित नेपाली राजदूतावास श्रमिकहरूको हकहितमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।
राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधि लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो। गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आ-आफ्ना धारणा व्यक्त गर्नुभएको दूतावासले जनाएको छ। सो अवसरमा श्रमसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।
अबुधाबी मस्कटपछि वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने दोस्रो राजदूतावास हो।