पाठेघरको क्यान्सर रोकथाम: १३ लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानमा १३ लाख किशोरी सहभागी भएका छन्।

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानमा माघ २२ गतेदेखि फागुन ४ गतेसम्म १३ लाख किशोरीलाई खोप लगाइएको हो।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ। कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप लगाइएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अभियान सफल पार्न खट्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, विद्यालय र सहयोगी सबैलाई धन्यवाद दिनुभएकाे छ ।

मन्त्रालयले १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। नेपालमा पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने महिलाको संख्या उच्च रहेकाले सरकारले यो समस्या कम गर्ने उद्देश्यले निरोधात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।