बर्दिबासमा ‘हाम्रो माया घर’ निर्माण तीव्र, सडक मानवलाई आश्रय दिने उद्देश्य
महोत्तरी, ४ फागुन । बर्दिबास नगरपालिकामा सडक मानव, बेसहारा, अशक्त र असहायलाई आश्रय दिने उद्देश्यले निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ।
स्थानीय १५ जना दाताले करिब डेढ करोड मूल्य बराबरको साढे पाँच कट्ठा जग्गादान दिएपछि बर्दिबास–२ मा भवन निर्माण सुरु भएको हो। १० करोड ६९ लाखको लागतमा बन्ने भवनको निर्माण कार्यलाई तीव्रता दिइएको छ।
शिवपुराण महायज्ञमा सङ्कलन भएको रकम र मधेश प्रदेश सरकारको सहयोगले निर्माण कार्य अगाडि बढेको हो। यो मधेश प्रदेशकै पहिलो सडक मानव सहायता केन्द्र हुनेछ। यहाँ २०० जना सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र शिक्षाको व्यवस्था हुनेछ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी ‘हाम्रो माया घर’ निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
