सर्लाहीमा रेबिजको भ्याक्सिन अभाव

सर्लाही, १२ फागुन । सर्लाहीमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव सधैँ हुने गरेको छ । यहाँका स्थानीयहरू कुकुर, स्याल जस्ता जनावरको टोकाइबाट पीडित हुँदा पनि समयमा भ्याक्सिन नपाएर समस्यामा पर्ने गरेका छन् ।

बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई फागुन १ गते छाडा कुकुरले टोक्यो । तत्काल बरहथवा नगर अस्पताल पुगे पनि भ्याक्सिन नहुँदा उनी निजी क्लिनिकमा ६५० रुपैयाँ तिरेर भ्याक्सिन लगाउन बाध्य भए । तीन-तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्नेमा दोस्रो मात्राका लागि नगर अस्पताल पुग्दा पनि औषधि नआएको भन्दै फर्काइएपछि उनले निजी क्लिनिकबाटै महँगोमा भ्याक्सिन किनेर लगाए ।

शुक्रबार अस्पताल परिसरमा भेटिएका मुकेशले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि मात्रै एक मात्रा भ्याक्सिन पाएको बताए । अस्पतालमा २०० रुपैयाँमा पाइने भ्याक्सिन बाहिर ६५० रुपैयाँ तिर्नुपर्दा महँगो परेको उनको गुनासो छ ।

“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन भनेर फर्काउँछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उनले भने ।

चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उनले भने, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उनको भनाइ छ ।

मुकेश जस्तै गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उनलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पुर्‍याए । तर, उनले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाइनन् । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए । त्यसपछि उनी लालबन्दी नगरपालिकाको एक निजी क्लिनिकमा पुगेर महँगोमा भ्याक्सिन लगाउन बाध्य भइन् ।

प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिए । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उनले बताए । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

जिल्लामा सधैँ रेबिजविरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिजविरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।

जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिजविरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भए पनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए ।

औषधि सकिनेबित्तिकै माग फारम भरेर पठाउने गरे पनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाहीँ १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा. झा बताउँछन् । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भए पनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दबाब हुने उनले बताए ।

भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताए । पहिला धेरै कोटा भए पनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उनले बताए । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उनको भनाइ छ ।
हाल जिल्लामा मासिक ६०० भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वास्थ्यकर्मी बताउँछन् ।