भोजपुरमा अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाको तयारी, किसान उत्साहित

भोजपुर, २० फागुन । भोजपुरमा किसानको आयस्रोत बढाउने उद्देश्यले अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाको पहल थालिएको छ।

कृषि ज्ञान केन्द्रले किसानले उत्पादन गरेको अकबरे खुर्सानीलाई गुणस्तरीय ढंगले भण्डारण गरी विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पुर्‍याउने लक्ष्यका साथ प्रशोधन केन्द्र स्थापना गर्न लागेको हो।

अकबरे खुर्सानीको उत्पादन बढी भएको समयमा किसानले उचित मूल्य नपाउने गुनासो बढेपछि प्रशोधन केन्द्रको आवश्यकता महसुस गरिएको हो। कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार केन्द्र स्थापनाका लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरी पठाइएको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएलगत्तै केन्द्र स्थापनाको काम अघि बढाइनेछ।

“अकबरे खुर्सानी भोजपुरका किसानको मुख्य आयस्रोत बनेको छ,” प्रमुख यादवले भने, “प्रशोधन केन्द्र नहुँदा किसानले समस्या भोग्दै आएका छन्। किसानले उत्पादन गरेको खुर्सानीको सहज बजारीकरण र उत्पादित वस्तुलाई गुणस्तरीय ढंगले बाह्य बजारमा पुर्‍याउन केन्द्र स्थापनाको तयारी गरेका हौँ।”

जिल्लामा खुर्सानी खेती गर्ने किसानको संख्या बढ्दो छ। हाल ६ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा खुर्सानी खेती भइरहेको छ र आगामी दिनमा यो क्षेत्र अझ विस्तार हुने अनुमान छ।
ज्ञान केन्द्रले खुर्सानी खेतीमा देखिएका समस्या, सम्भावना र बजारीकरणलगायतका विषयमा छलफल गर्न पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाका अगुवा किसान, कृषि शाखा प्रमुख तथा सरोकारवाला पक्षसँग छलफल गरेको छ। सरोकारवालाहरूले किसानको आम्दानीको मुख्य स्रोत अकबरे खुर्सानी भएकाले प्रशोधन केन्द्र आवश्यक रहेको बताएका छन्।

प्रशोधन केन्द्र स्थापनाका लागि थप समन्वय र सहकार्य गर्न अरुण गाउँपालिकाका अगुवा किसान तोरण कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। पौवादुङमा गाउँपालिकाका किसान ध्रुव राईले कृषि ज्ञान केन्द्रले अकबरे खुर्सानीको प्रवर्द्धन र विकासका लागि थालेको काम सकारात्मक भएको बताए। प्रशोधन केन्द्र स्थापना भएपछि किसानलाई प्रत्यक्ष लाभ पुग्ने उनको विश्वास छ।

पौवादुङमा–१ श्यामशिला वडाध्यक्ष राजेन्द्र तामाङले खुर्सानी किसानको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय तहबाट पनि पहल गर्ने बताए। प्रशोधन केन्द्र स्थापना भएपछि खुर्सानीलाई विदेशमा समेत सहज रूपमा पुर्‍याउन सकिने उनको भनाइ छ।