अमेरिकाबाट डिपाेर्ट गरिएका नेपालीहरूको बयान : दलालविरुद्ध मुद्दा चलाउन अनिच्छा

काठमाडौँ, २१ फागुन । अमेरिकाबाट डिपाेर्ट गरिएका नेपालीहरूसँग नेपाल प्रहरीले सोधपुछ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोमा राखिएका उनीहरूलाई अमेरिका पुग्ने प्रक्रियाबारे सोधपुछ गरिएको हो।

प्रारम्भिक सोधपुछमा केही नेपाली ब्राजिल हुँदै अमेरिका पुगेको र अध्यागमन कानुन उल्लंघन गरेको पाइएको छ। अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी, बाँकी दाङ र रुकुमका छन्।

उनीहरूले अमेरिका पुग्नका लागि ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको खुलेकाे छ ।
तर, उनीहरूले अमेरिका पठाउने व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्न अनिच्छा देखाएका छन्। प्रहरीले मानव तस्करीको सञ्जाल पत्ता लगाउने अपेक्षा गरे पनि उनीहरूको अनिच्छाले अनुसन्धानमा बाधा पुग्न सक्ने देखिएको छ।

बुधबार चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई अमेरिकाबाट नेपाल फर्काइएको थियो। सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।