भोजपुरको ‘मुन्दुम पदमार्ग’ विस्तार तथा पुनःनिर्माण सुरु

भोजपुर, २२ फागुन । सरकारले घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यमध्ये एक मानेको ‘मुन्दुम पदमार्ग’ को विस्तार तथा पुनःनिर्माण थालिएको छ।

स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोग, संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड रुपैयाँको लगानीमा पहिलो चरणको काम सुरु भएको हो ।

पदमार्ग निर्माणका बारेमा जानकारी गराउन हाँस पोखरीमा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । सुनुवाईमार्फत योजनाको लागत, सञ्चालन प्रक्रिया, क्षेत्र र निर्माण अवधिलगायतका विषयमा जानकारी दिइएको हो ।

टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनःनिर्माण थालिएको छ। पदमार्गसँगै पर्यटकलाई लक्षित गरी तीनवटा सार्वजनिक शौचालय, दुईवटा रात्रिविश्राम स्थल र एउटा खानेपानी धारा निर्माण गरिनेछ ।

“तीनवटै सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्दुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”, प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, “यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरू बन्नेछन्। निर्माण कार्य आगामी असारसम्ममा सम्पन्न हुनेछ।” उहाँका अनुसार स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना भएकाले यसको विकास तथा विस्तारमा जोड दिइएको बताउनुभयो। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्य लिएको छ। पदमार्गले स्थानीय धर्म, संस्कृति, रीतिरिवाजको जगेर्नासँगै कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उहाँको विश्वास छ।

“मुन्दुम पदमार्ग हाम्रो गौरवको योजना हो,” उहाँले भन्नुभयो, “यहाँ जति पनि काम भइरहेका छन्, यसले यहाँको विकास र समृद्धिलाई जोडेको छ। हामीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यका साथ काम बढाइरहेका छौँ।” उपाध्यक्ष राईले पदमार्गमा आउने पदयात्रीहरूको सहज र सुरक्षित यात्राका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार पदमार्गलाई थप व्यवस्थित बनाउँदै स्थानीयको रोजगारी र जीविकोपार्जनसँग जोड्ने काम भइरहेको छ। सन् २०२५ लाई मुन्दुम भ्रमण वर्ष घोषणा गरी प्रचारप्रसारसँगै विकासको काम भइरहेको उहाँले जानकारी दिनुभयो । “मुन्दुम पदमार्ग पूर्वको स्थापित गन्तव्यको रूपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “पदमार्ग विस्तार भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको छ। पर्यटकको सहज, सरल, सुरक्षित र आरामदायी यात्राको लागि हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ।”

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्ग एक मात्र भर्जिन पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलाप रोक्नुपर्ने उहाँको भनाइ छ। यो पदमार्ग नेपाल सरकारको सय गन्तव्यमा सूचीकृत भएकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भइरहेको उहाँले जानकारी दिनुभयो।

“मुन्दुम पदमार्ग एक भर्जिन पदमार्ग हो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “नेपालमा सायदै यस्ता स्थानहरू कमै मात्र छन्। सडक विस्तारका कारण यस्ता क्षेत्रहरूमा क्षति पुगेको अवस्था छ। पदमार्ग क्षेत्रको संरक्षणका लागि हामीले गम्भीर बन्न आवश्यक छ।” उहाँका अनुसार एक करोड लागतमा भइरहेको पहिलो चरणको काम सम्पन्न भएपछि यही आर्थिक वर्षमा सम्पन्न हुने गरी दोस्रो चरणमा ८५ लाख रुपैयाँ बराबरको निर्माण कार्य हुनेछ।