पोखरा लेकसाइडमा कोटिहोमा झडप: ११ नगर प्रहरी घाइते

काठमाडौं, २३ फागुन । पोखरा लेकसाइडमा कोटिहोमको भूमिपुजन रोक्न खोज्दा नगर प्रहरी र आयोजकबीच झडप भएको छ।

झडपमा ११ जना नगर प्रहरीसहित केही व्यक्ति घाइते भएका छन्। विजय भण्डारी नेतृत्वको मानव सेवा फाउन्डेसनले लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न लागेको थियो।

अनुमतिबिना भूमिपुजन गर्न लागेको भन्दै महानगर प्रहरीको टोलीले रोक्न खोज्दा झडप भएको स्थानीय बताउँछन्। फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडान लिएपछि झडपको अवस्था आएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार भूमिपुजनको स्वीकृति नभएको जानकारी दिन पुगेका नगर प्रहरीमाथि हातपात भएको थियो। विजय भण्डारीका समर्थकले कुटपिट गरेको र प्रहरीले समेत असहयोग गरेको उनको गुनासो छ।