हस्तकलाको उचित मूल्य नपाउँदा व्यवसायी चिन्तित

मोरङ, २५ फागुन । बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका होमनाथ बराइली तीन दशकदेखि काठमा बुट्टा कुँद्ने काम गर्दै आएका छन्। तर, हस्तकलाको उचित मूल्य पाउन छाडेपछि उनी यो पेशाप्रति सन्तुष्ट छैनन्।

बाहिरबाट हस्तकलाका सामग्री आयात हुँदा र प्लास्टिकका सामग्रीको बढ्दो प्रयोगले घरेलु हस्तकलाको माग घटेको उनको भनाइ छ। उनका बुबा डिल्लीमान बराइली धातुका मूर्ति कुँद्ने काम गर्थे र उनकै प्रभावले होमनाथ पनि यो पेशामा लागेका हुन्।

“पहिले हस्तकलाको माग धेरै हुन्थ्यो, बुबा र दाजु झमक पनि यही पेशामा थिए, जसले गर्दा परिवारको गुजारा चलेको थियो,” उनले भने। स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ र भक्तपुरे ढोकालगायत विभिन्न सामग्री बनाइन्छ। एउटा भक्तपुरे ढोका बनाउन दुई महिना लाग्ने भए पनि ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने उनले बताए। उनका अनुसार एउटा ढोकाको मूल्य रु १ लाख ५० हजारसम्म पर्छ।

“सरकारी र सार्वजनिक भवन तथा मठमन्दिरमा स्थानीय काठका हस्तकलाका सामग्री प्रयोग गर्ने हो भने यो कला मर्ने थिएन,” उनले भने। आगामी दिनमा यो पेशालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता उनलाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *