एनपिएलमा पोखराको कीर्तिमान ब्याटिङ, काठमाण्डुलाई २२५ रनको लक्ष्य
काठमाडौँ, २९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले कीर्तिमानी ब्याटिङ गर्दै काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनाएको हो। एनपिएलका तीन संस्करणमध्ये पोखराले बनाएको यो हालसम्मकै उच्च योगफल हो। यसअघि दोस्रो संस्करणमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो।
पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट ब्याटिङ गरे। भुर्तेलले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा ९९ रन बनाए भने साम्राले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रन जोडे। कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए।
बलिङतर्फ काठमाण्डुका करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए।
यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको पोखरा प्रतिष्ठाको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डुले भने छ खेलमा चार जित र दुई हार बेहोरेको छ। पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याउँदै काठमाण्डुले जवाफी ब्याटिङ गरिरहेको छ।
