पुजाको अलराउन्ड प्रदर्शनमा नेपालको पहिलो जित

काठमाडौँ, २५ फागुन । नेपालले आइतबार घरेलु टिम युगान्डालाई रोमाञ्चक ढङ्गले एक विकेटले हराएर वुमेन्स डे महिला टि२०आई शृङ्खलामा पहिलो जित हात पारेको छ । एक दिनअघि नेपाल नामिबियासँग अन्तिम बलमा हारेको थियो । युगान्डाले भने आप्नो पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा ७५ रन मात्र बनाएको थियो । तर नेपालले सामान्य लक्ष्य एक बल बाँकी छँदा नौ विकेटको क्षतिमा ७६ रन बनाएर हासिल गर्यो ।

अन्तर्राष्ट्रिय क्रिकेट पदार्पामा सना प्रवीणले टिमका लागि सर्वाधिक १८ रन बनाइन् । सनाले ३५ बलको सामना गरी एक चौका प्रहार गरिन् । यसैगरी पूजा महतो १६ र रुविना क्षेत्री १० रनमा आउट भए । कप्तान इन्दु छ, विन्दु रावल दुई र रोमा थापा एक रनमा पवेलियन फर्के । अलरान्डर कविता जोशी र रचना चौधरी शुन्यमै आउट भए । इश्वरी विष्ट तन र रिया शर्मा चार रनमा अविजित रहे ।

युगान्डाकी कप्तान जानेट माबाजीले चार ओभरमा मात्र १८ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । सराह वालाजले पनि दुई विकेट हात पारिन् । नेपालको पालिमा चार ब्याटर रन आउट भएका थिए ।

यसअघि, युगान्डाको पालिमा पुजा महतोले पहिलो बलमै कप्तान जानेटलाई शुन्यमा एलबडब्लयू आउट गरेकी थिइन् । अर्की प्रारम्भिक ब्याटर इमाकुलेट नाकिसुइले तीन चौकासहित सर्वाधिक २२ रन ।स्टेफनी नाम्पिना (१४ रन) र मलिसा अरियोकोटले ११ रन रन बनाए ।
पुजाले चार ओभरमा १४ रन खर्चेर तीन ब्याटर आउट गरी शानदार बलिङ गरिन् । पूजा अलराउन्डर प्रदर्शनपछि प्लेअर अफ दि म्याच पनि बनिन् । यसैगरी कप्तान इन्दुले पनि चार ओभरमा मात्र आठ रन दिएर दुई विकेट लिएपछि युगान्डाको पालि सामान्य बनेको थियो ।