महिला टि२०आई शृङ्खलामा नेपालको दोस्रो हार

काठमाडौँ, २६ फागुन । इश्वर विटले अन्तिम बलमा चार रन प्रहार गर्न नसकेपछि वुमेन्स डे महिला टि२०आई शृङ्खलामा नेपाल सोमबार हङकङसँग दुई रनले पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १०० रन बनाएको थियो । नेपालले जवाफमा सात विकेटको क्षतिमा ९८ रन मात्र बनाउनसक्यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले ३३ बलमा सर्वाधिक ३२ रन बनाउनुभयो । इन्दुबाहेक पुजा महतो (१९ रन), विन्दु रावल (१४ रन), रोमा थापा –अविजित १३ रन)ले मात्र दोहोरो अङकमा रन बनाउनसके । नेपालाई खेल जित्न अन्तिम बलमा चार रन आवश्यक थियो । तर इश्वरी विष्टले एक रन मात्र लिन सकिन् ।

प्रारम्भिक ब्याटर सम्झना खड्का दोस्रो ओभरको पहिलो बलमै एक रनमा र अर्की प्रारम्भिक ब्याटर सना प्रवीण पनि २४ बलमा दस रन बनाएर आउट भएपछि नेपालको सुरुआत कमजोर बनेको थियो । हङकङकी तेज बलर मारिको हिलले सर्वाधिक दुई विकेट लिइन् ।

हङकङका लागि प्रारम्भिक ब्याटर नताशा माइल्सले ४३ बलमा तीन चौकासहित सर्वाधिक ३५ रन बनाएकी थिइन् । हिलले पनि २१ रनको उत्कृष्ट पालि खेली आफ्नो अलराउन्ड क्षमता देखाइन् । नेपालकी कप्तान इन्दु वर्मा र तेज बलर इश्वरी विष्टले दुई–दुई तथा पुजा महतो र रचना चौधरीले एक–एक विकेट लिए ।

नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा नामिबियासँग नामिबियासँग अन्तिम बलमा हारेको नेपालले दोस्रो खेलमा घरेलु टिम युगान्डालाई एक विकेटले पराजित गरेको थियो ।