‘लो स्केरिङ’ खेलमा गण्डकी विजयी

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको छ । गण्डकीको दोस्रो खेलमा यो पहिलो जित हो । कर्णालीले भने पहिलो खेलमा जित हात पारेको थियो ।

दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट रङगशालामा भएको खेल ‘लो स्केरिङ’ रह्यो । पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा मात्र ९१ रनमा सीमित भएको थियो । गण्डकीले २९.१ ओभरमा छ विकेटको क्षतिमा ९५ रन बनाएर जित प्राप्त गर्यो ।

कर्णालीका लाग विपिन शाहीले सर्वाधिक २० रन बनाए । अर्जुन घर्ती (१७ रन), विपिन रावत (१५ रन) र हिमांशु शाही (१२ रन) ले पनि दोहोरो अङ्कमा रन बनाए । गण्डकीका लागि चन्द्र पौडेल, सुभाष भण्डारी र विपिन खत्रीले दुई–दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक–एक विकेट लिए । कर्णालीले अन्तिम पााच विकेट ११ रनमै गुमाएको हो ।

गण्डकीले २२ रनमै छ विकेट गुमाएपछि कर्णालीको पक्षमा खेल ढल्केको थियो । तर दीपक डुम्रे र सुजन गौतमले सातौँ विकेटका लागि ७३ रनको साझेदारी निर्वाह गरी गण्डकील्े जित दिलाए । म्यान अफ दि मयच दीपकले ७८ बलमा सात चौकासहित अविजित ५० रन बनाए । सुजन ४६ बलमा तीन चौका प्रहार गरी २२ रनमा अविजित रहे ।

दिवान पुनले दस ओभरमा मात्र १३ रन खर्ची तीन र दिपेन्द्रले दस ओभरमा २९ रन दिएर दुई विकेट लिएर कर्णालीलाई खेलमा फर्काउन गरेको प्रयास भने सफल भएन ।