मुग्लिन–पोखरा सडक स्तरोन्नति, ७३ किलोमिटर कालोपत्र सम्पन्न

तनहुँ, १ चैत । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्र सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३.११ किलोमिटर दूरीमा कालोपत्र भएको हो।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४.९८ र दुई लेनतर्फ ३.१५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ। पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ।”

गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८.९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९.२५ प्रतिशत छ। पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २०.१६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२.३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ।

पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ। दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ। पूर्वी खण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५.०७ प्रतिशत भौतिक प्रगति भएको छ। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५.०७ प्रतिशतभन्दा बढी प्रगति भएको हो। त्यस्तै, ५२.४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ ।

पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो। उक्त पुलमा छ वटा स्पान हुनेछन्। तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले रु. एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो। उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ।