नेसन्स लिग

क्रोसियाले फ्रान्स,जर्मनीले इटाली र डेनमार्कले पोर्चुगललाई हराए

लन्डन, चैत ८ गते । क्रोसियाले शुक्रबार नेसन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सलाई २–० ले हराएको छ । अन्य खेलमा जर्मनीले इटालीलाई २–१ र डेनमार्कले पोर्चुगललाई १–० ले हराए । गत विजेता स्पेनले दस खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग २–२ ले बराबरीमा खेल्यो ।

यसअघि खेलको आठौँ मिनेटमा फ्रान्सका गालरक्षक माइगनले एन्द्रिज क्रामारिचको पेनाल्टीलाई विफल पारेर क्रोसियालाई खेल कठिन हुने अनुमान गरिएको थियो । तर खेलको २६ औँ मिनेटमा इभान पेरिसिचको क्रसलाई सदुपयोग गर्दै एन्टे बुडिमिरले हेड गोल क्रोसियालाई अगाडी पारे । पेरिसिचले पूर्वार्धको अतिरिक्त समयमा क्रोसियाको अग्रता दोब्बर पारे ।

इटालीविरुद्धको जितमा जर्मनीका कप्तान जोसुआ किमिच चम्के । उहाँले इटालीवरुद्धको भएका दुवै गोलमा एसिस्ट गरे । जियाकोमो रासपोडोरीको क्रसमा सान्ड्रो टोनालीले गोल गरेपछि घरेलु टिम इटाली अगाडि भएको थियो । उत्तरार्धको सुरुआतमै टिम क्लाइन्डियन्स्टले किमिचको पासमा बराबरी गोल गरेर जर्मनीलाई खेलमा फर्काए । खेलको ७६ औँ मिनेटमा किमिचले उपलब्ध गराइदिएको बलमा लियो गोरेट्जाले निर्णायक गोल गरे । सन् १९८६ पछि जर्मनीले इटालीलाई उसकै भूमिमा पहिलो पटक हराएको हो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा वैकल्पिक खेलाडी मिकेल मेरिनोले खेलको इन्जुरी समयमा गोल गरेर स्पेनलाई हारबाट जोगाए । सो खेलमांं लामिने यमालको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर कोडी गाक्पो र टिजान राइडर्सको गोलबाट नेदरल्यान्ड्सले स्थिति २–१ पार्यो । निर्धारीत समयको खेल सकिन नौ मिनेट बाँकी छँदा नेदरल्यान्ड्सका डिफेन्डर जोरेल हाटोले रातो कार्ड पाएपछि पनि स्पेनलाई खेलमा फर्किन सहज भयो ।

यसैगरी स्ट्राइकर रासमस होलुन्डको गोलले डेनमार्कले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई निराश बनायो । एजेन्सी