सुस्ता गाउँपालिकाद्वारा शीतभण्डार सञ्चालनका लागि निजी क्षेत्रको खोजी

नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४ नर्सरीमा निर्मित शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालन गर्न गाउँपालिकाले निजी व्यवसायीको खोजी थालेको छ।

पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको शीतभण्डार उपयोगविहीन भएपछि गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्ने निष्कर्ष निकालेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताउनुभयो। पूर्वतयारी बिना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उहाँले बताउनुभयो।

गाउँपालिकाको मुख्य बाली उखु र केरा खेती भए पनि शीतभण्डारमा आलु र प्याज मात्र राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ। “यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकालमा शीतभण्डार बनाइयो, जसकारण यसको प्रयोग हुनसकेको छैन। ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय हो। त्यसैले निजी क्षेत्रलाई ठेक्कामा दिएर यसको उपयोग गर्ने सोच बनाएका छौँ,” उहाँले भन्नुभयो।

गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार पारिएको जानकारी दिनुभयो। गाउँपालिका आफैँले शीतभण्डार सञ्चालन गर्न धेरै प्रयास गरे पनि सफल हुन नसकेको उहाँले बताउनुभयो। “किसानलाई आलु, प्याज उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानको कार्यक्रम पनि अगाडि सार्‍यौँ। त्यसका लागि चालु आर्थिक वर्षमा आलुमा १० लाख र प्याजमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसका लागि आवेदन पनि माग्यौँ तर किसानले चासो राखेनन्,” उपाध्यक्ष चौधरीले भन्नुभयो।

एक वर्षअघि शीतभण्डार गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि पनि पालिकाले केही अधुरा काम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो। शीतभण्डारको क्षमता एक हजार मेट्रिक टन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *