झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

झापा, ११ चैत । रोग निको हुने र कम खर्चिलो हुने भएकाले झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दै गएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

केन्द्रका प्रमुख, आयुर्वेद डाक्टर विजय श्रेष्ठका अनुसार केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ। उपचारका लागि आउने अधिकांश बिरामी पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या र नसासम्बन्धी समस्या भएका छन्। उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा आयुर्वेदिक उपचारप्रति विश्वास बढेको हो।

केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ४ हजार ९२८ जनाले पूर्वकर्म/पञ्चकर्म (थेरापी) सेवा, ९३० जनाले योग सेवा, १०५ जनाले होमियोप्याथी सेवा र ५४५ जनाले प्रयोगशाला सेवा लिएका छन्। केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईका अनुसार यसैगरी केन्द्रबाट २ हजार १७५ जनाले बहिरङ्ग सेवा लिएका छन्। केन्द्रले शल्य चिकित्सा सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक सेवासमेत दिँदै आएको छ।

केन्द्रले ज्येष्ठ नागरिकलाई अश्वगन्धा चूर्ण र अमला चूर्ण वितरण गर्दै आएको छ। डा. श्रेष्ठका अनुसार अन्य आयुर्वेद केन्द्रहरु भन्दा फरक ढंगबाट यहाँ पूर्वकर्म/पञ्चकर्मको थेरापी सेवा दिइन्छ। यस अन्तर्गत मालिस गर्ने, बाफ लगाएर सेक्ने, तेल लगाएर मलद्वारबाट तेलको प्रवाह गर्ने, आवश्यकतानुसार वान्ता गराउने र पखाला गराउने जस्ता क्रियाकलाप गरिन्छ।

भद्रपुर नगरपालिका–८ का किरन पोखरेलले आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि यो उपचार पद्धतिप्रति आफ्नो विश्वास बढेको बताए। उनले भने, “मलाई ग्यास्ट्रिकको समस्या थियो। विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु। खाना पनि रुच्न थालेको छ र सुधार भइरहेको छ।”

ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्म/पञ्चकर्म गराइरहेका हल्दीबारीका विकास राजवंशीले उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताए। आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका हुन्।