रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

रामेछाप, ११ चैत । रामेछाप नगरपालिका-६ स्थित ओख्रेनीको च्यास्कुमा आइतबार आयोजित एकीकृत घुम्ती शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्।

सो अवसरमा चालु आर्थिक वर्षभित्र भएका काम र उपलब्धिहरुको बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो।

शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, पशु सेवा र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो। रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढंगबाट खर्च हुन नसकेको जानकारी दिए।

रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण केन्द्र र प्रदेश सरकारबाट आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बाध्यता रहेको बताए।

उपप्रमुख बाला कार्कीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर बनेको वर्तमान सरकारमा स्थानीय सरकारले साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको विकास अपेक्षाकृत ढंगबाट हुन नसकेको बताइन्।

कार्यक्रममा सहभागी अधिकांश स्थानीयले नगरपालिकाले गरेका गतिविधिहरु छिटो छरितो नभएको, विकास निर्माणका काम गर्दा विनाश निम्तिएको र यसअघि भएका सार्वजनिक सुनुवाइमा गरिएका प्रतिबद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *