प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन

खोटाङ, ११ चैत । रावाबेँसी गाउँपालिका-२ खार्पास्थित प्रहरी चौकी खार्पाले स्थापनाको १२ वर्षपछि आफ्नै भवन पाएको छ। २ करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो।

२०६९ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले यसअघि साविक खार्पा गाउँ विकास समिति (गाविस)कै पुरानो भवनबाट सेवा दिँदै आएको थियो। स्थापना भएको १२ वर्षसम्म साँघुरो र कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको प्रहरी चौकीले अब भने नयाँ सुविधासम्पन्न भवनबाट सेवा दिनेछ।
नवनिर्मित साढे दुई तले भवनमा साना ठूला गरी ११ वटा कोठा रहेका छन्। जसमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास र मनोरञ्जन हल निर्माण गरिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले आइतबार उक्त भवनको उद्घाटन गरेका हुन्। उनले सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न थप मनोबल बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *