कर्णालीविरुद्ध बागमतीको एकपक्षीय जित

काठमाडौँ, ११ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.१ ओभरमा ५८ रनमै अलआउट भएको थियो । बागमतीले ६.३ ओभरमा एक विकेटको क्षतिमा ६२ रन बनाएर लक्ष्य हासिल गर्यो ।

इशान पाण्डे ११ बलमा दुई चौका र एक छक्का प्रहार गरेर २२ रन बनाएपछि दिपेन्द्र राउतको बलिङमा आउट भए। त्यसपछि अर्का प्रारम्भिक ब्याटर आशुतोष घिरैयाले शुभ कंसाकारसँग मिलेर दोस्रो विकेटका लागि अविजित साझेदारी निर्वाह गरी बागमतीले जित दिलाए । आशुतोष्ले १९ र बुभले १६ रन बनाए ।

यसअघि, बागमतीका तेज बलर रिजन ढकालले ५.१ ओभरमा १९ रन दिएर पाँच र स्पीनर सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिएर कर्णालीको पालि धराशायी बनाएका थिए । कर्णालीका लागि सुनिल धमला (१५ रन) मात्र दोहोरो अङकमा रन बनाउन सके ।

बागमती जितसँगै आठ खेलमा चार जित र चार हारसहित आठ अङक बनाएर चौथो स्थानमा उक्लेको छ । बागमतीसरह आठ अङक बनाएको कर्णाली रनरेटका कारण पाचौँ स्थानमा झर्यो ।