अन्तर्राष्ट्रिय शून्य कसिंगर दिवस २०२५ तथा विश्व नेवा: दिवसको अवसरमा “हिंडौं कीर्तिपुर” नारासहित प्लाष्टिक मेला सम्पन्न
कीर्तिपुर, १६ चैत । प्लिज प्रोजेक्ट अन्तर्गत एकिकृत शहरी बिकास केन्द्र द्वारा आयोजित “हिंडौं कीर्तिपुर” नारासहित प्लाष्टिक मेला कीर्तिपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय समुदायको सहभागिता तथा पर्यावरणीय सचेतनालाई प्रवर्द्धन गर्न “हिंडौं कीर्तिपुर” नारासहित प्लाष्टिक मेला सम्पन्न भएको हाे ।
हरेक हप्ताको शनिबार बेलुकी ३ बजेपछि गाडीमुक्त वातावरणमा स्थानीयहरू रमाउन पाउने उद्देश्यले सञ्चालन भइरहेको यस अभियान यसपटक विशेष महत्वका साथ सम्पन्न भएको छ।
एकिकृत शहरी बिकास केन्द्रले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर गाइड एसोसिएसन, स्थानीय क्लबहरू, वडा स्तरका नागरिक सञ्जालहरू, तथा महिला समूहहरूसँग मिलेर प्लास्टिक फोहर व्यवस्थापन, उपभोग सचेतना, सुरक्षित तथा सफा संकलन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरेको हो।
यस मेलामा ब्लु वेस्ट टु भ्यालु, क्लिनइट अपसाइक्लर्स, नेहा ह्यान्डिक्राफ्ट्स, होम नेट, स्थानीय महिला समूह, प्लास्टिक केयर एंटरप्राइज लगायतका संस्थाहरूले प्लास्टिकजन्य सामग्रीको पुनःप्रयोग तथा हस्तकला प्रदर्शन गरेका थिए। साथै दीगो नेपाल द्वारा प्लास्टिकको विकल्प प्रस्तुत गरेका थिए ।
स्थानीय कला, संस्कृति, र परम्परागत खानाको प्रवर्द्धन गर्दै वातावरणीय दिगोपनलाई प्रोत्साहित गर्न स्थानीय युवाहरूले परम्परागत बाजागाजा बजाउँदै सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका छन्।
मेलामा एक हजार भन्दा बढी मानिसहरू सहभागी थिए, जसमा काठमाडौँका स्थानीय बासिन्दा, विदेशी पर्यटक, तथा आयोजकहरूले निम्त्याएका विशेष अतिथिहरू सहभागी थिए। उनीहरूले प्लास्टिकको प्रयोगबारे जानकारी लिए, “ट्रेजर हन्ट” प्रतियोगितामा भाग लिए, प्लास्टिक रिसाइक्लिङ र अपसाइक्लिङका सम्भावित उपयोगहरूबारे सिके, साथै प्लास्टिक जलाउनु, पुरिदिनु वा जथाभावी फ्याँक्नुको हानिबारे सचेत भए।
किर्तिपुर नगरपालिकाका मेयरले स्थानीय बासिन्दाहरूको पहिचान जगेर्ना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, तथा परम्परागत परिकारहरूको पुनरुत्थान गर्ने प्रयासप्रति आफ्नो प्रशंसा व्यक्त गर्दै प्लास्टिक फोहर न्यूनीकरणका लागि यो पहल अन्य नगरपालिकाहरूका लागि उदाहरणीय बन्न सक्ने बताए। साथै, किर्तिपुरका अन्य वडाहरूमा “प्लास्टिक व्यवस्थापन गरिएका समुदाय” विस्तार गर्ने इच्छा व्यक्त गरे।
सीआइयूडीका कार्यकारी निर्देशक नविन बिकाश महर्जन ले प्लास्टिकको सम्पूर्ण चक्रिय अर्थतन्त्र अवधारणा कार्यान्वयन गर्ने सफलताको विषयमा विस्तृत जानकारी दिए। भने निर्जला महर्जनले कार्यक्रम सञ्चालन गर्नुकासाथै किर्तिपुर गाइड एसोसिएसनका उपाध्यक्ष बिरेन्द्र शाक्यले स्वागत मन्तव्य राखेका थिए।
