बागलुङका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बागलुङ, १८ चैत्र । बागलुङ जिल्लाका एक सय छ वटा खानेपानीका मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले गरेको परीक्षणमा उक्त तथ्य फेला परेको हो। जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० वटै स्थानीय तहका विभिन्न २८५ स्थानमा गरिएको कोलिफर्म परीक्षणमा धेरै मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए।

सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका खानेपानीमा कोलिफर्म भेटिएको छ। काठेखोलामा ४७ वटा मुहान परीक्षण गर्दा २७ वटामा र जैमिनीमा १०६ वटा मुहान परीक्षण गर्दा ४४ वटामा कोलिफर्म भेटिएको हो। परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ।

जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा कोलिफर्म परीक्षण गरिरहेको छ। धेरै ठाउँबाट परीक्षण गर्न आग्रह आएकाले विस्तारै सबै स्थानीय तहमा परीक्षण गरिने उनले बताए।

कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त नहुने र यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायत पानीजन्य रोग लाग्ने भएकाले जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको आचार्यले जानकारी दिए।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताए। कोलिफर्म देखिएका मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ। कोलिफर्म नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्ने र अन्य निकायबाट प्राविधिक सहयोग लिई कोलिफर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाइने उनले बताए।