पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद, तीन चालक पक्राउ
महोत्तरी, १९ चैत । महोत्तरी जिल्लामा पछिल्लो पन्ध्र दिनको अवधिमा करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, बर्दिबासको सक्रियतामा उक्त परिमाणको गाँजा बरामद भएको हो। ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीका अनुसार, पहाडी जिल्लाहरूबाट लुकाइछिपाइ ल्याइएको गाँजा बरामद गरिएको हो।
सबैभन्दा पछिल्लो घटनामा, सोमबार साँझ बर्दिबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमाथि प्लाष्टिकले बेरेर लुकाइएको अवस्थामा दुई क्विन्टल ३५ किलो गाँजा बरामद भयो।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले गाँजासहित ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको जानकारी दिनुभयो।
यसअघि, प्रहरीले यही चैत ३ गते सोही गौरीडाँडा क्षेत्रमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख ५८३२ नम्बरको ट्रकबाट ५४७ किलोग्राम गाँजा बरामद गरेको थियो। उक्त घटनामा संलग्न ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ।
त्यस्तै, ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर–जनकपुर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ चोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँच गर्दा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो। यसमा संलग्न ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पनि पक्राउ गरी अनुसन्धान तथा कारबाही थालिएको प्रहरीले जनाएको छ।