रोबर्टो कार्लोस नेपाल आउने
काठमाडौँ, २३ चैत । विश्वकप विजेता ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल आउने भएका छन् ।
एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्ट (एनएसइएम) ले शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलको मध्यान्तरमा कार्लोस नेपाल आउने जनाएको हो ।
५१ वर्षीय कार्लोस फ्रिकिकमा गोलका लागि चिनिन्छन् । सन् १९९२ देखि २००६ सम्म ब्राजिलको जर्सीमा खेलेका कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा सो टिमका महत्वपूर्ण सदस्य थिए । ब्राजिलका लागि कार्लोसले १२५ खेलमा दस गोल गर्नुभएको छ । कार्लोसले व्यवसायिक फुटबलमा लामो समय रियल म्याड्रिडबाट खेले ।
कार्लोसले भिडियो सन्देशमा एनएसएलको यो सत्र अविस्मरणीय रहोस् र यहाँको फुटबलको जोश अनुभव गर्न म नेपाल भ्रमण गर्न उत्सुक छु । चाँडै भेटौंला, भनेका छन् ।