भोजपुरको ऐतिहासिक धार्मिकस्थल गङ्गा खोलाको संरक्षण सुरु

भोजपुर, २४ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको गङ्गा खोला क्षेत्रको संरक्षणको प्रयास थालिएको छ।

गोल्मे राजा र गोल्मे रानी नामका प्रसिद्ध भिरहरूको काखमा रहेको यस पवित्र स्थलको जगेर्ना गर्न वडा कार्यालयको पहलमा स्थानीय नागरिकहरू जुटेका छन्।

स्थानीयका अनुसार, ढुङ्गाको कापबाट प्राकृतिक रूपमा निस्कने तीनवटा ठूला पानीका मुहान यस स्थलको प्रमुख आकर्षण हुन्। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ। साथै, यहाँको पानीले स्नान गरेमा छालासम्बन्धी रोगहरू निको हुने र पुण्यकर्ममा यस जलको प्रयोग गरिने परम्परा रहेको स्थानीय राजेन्द्र राईले बताउनुभयो। उहाँका अनुसार माघे सङ्क्रान्तिमा यहाँ भव्य मेला लाग्ने गर्दछ, तर पर्याप्त प्रचारप्रसार नहुँदा यो महत्वपूर्ण स्थल ओझेलमा परेको छ।

“गङ्गा खोला राष्ट्रिय स्तरमै चिनिनुपर्ने स्थल हो, तर प्रचार र संरक्षणको अभाव छ,” राईले भन्नुभयो, “यसको पौराणिक महत्व छ, तर भौगोलिक विकटताले विकासमा बाधा पुगेको छ।”
वडाध्यक्ष एकराज आचार्यका अनुसार, गङ्गा खोलाका मुहानहरू कहिल्यै सुक्दैनन्, वर्षायाममा पनि धमिलो हुँदैनन् र दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसको धार्मिक महत्व अझ बढेको छ।

वडा कार्यालयले सीमित बजेट छुट्याएर संरक्षणको काम सुरु गरेको र भक्तजनका लागि धारा निर्माण गरिदिएको उहाँले बताउनुभयो। यद्यपि, मुहानसम्म पुग्ने पदमार्ग लगायत थप संरचना निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने हुँदा अन्य सरकारी निकायसँग पनि सहयोगका लागि पहल भइरहेको वडाध्यक्ष आचार्यको भनाइ छ।

स्थानीयवासी पाण्डव राईले गङ्गा खोलाको अनुपम प्राकृतिक सौन्दर्य र भूबनोट रहेको बताउँदै यसको संरक्षण र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस क्षेत्रलाई व्यवस्थित गरी गाउँपालिकाको दिगो आम्दानीको स्रोत बनाउन सकिने सम्भावना औंल्याउनुभयो।