देउसीभैलोबाट सङ्कलित रकमले विद्यालयमा आइटी कक्षा सञ्चालन गरिने

काठमाडौँ, कार्तिक २५ । भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्न स्थानीयवासीले देउसीभैलोमार्फत आर्थिक स्रोत जुटाउन थालेका छन् ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्दै सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा कार्यक्रम आयोजना गरिएको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबारदेखि सुरु भएको देउसीभैलो कार्यक्रमबाट हालसम्म करिब रु एक लाख सङ्कलन भइसकेको छ । स्थानीयवासीको उत्साहजनक सहभागिताले विद्यालयको शैक्षिक विकासका लागि आवश्यक रकम जुटाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

विद्यालयमा आइटी कक्षा सञ्चालन भएपछि विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान र सीप हासिल गर्न सहज हुने वडाध्यक्ष थापाको भनाइ छ । पछिल्लो समय सूचना प्रविधिको महत्त्व बढ्दै गएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिसम्बन्धी शिक्षा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्थानीयवासी टेकबहादुर बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो । चाडपर्वका अवसरमा परम्परागत देउसीभैलो संस्कृतिको संरक्षणसँगै विद्यालयको शैक्षिक विकासका लागि आर्थिक स्रोत जुटाउने अभियान सकारात्मक रहेको उहाँको भनाइ छ ।

स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी र टेकबहादुर खड्कालगायतको अगुवाइमा देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

परम्परागत सांस्कृतिक पर्वलाई सामुदायिक हितसँग जोडेर सञ्चालन गरिएको यस अभियानबाट विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *