नेपाल सुपर लिग (एनएसएल)

काठमाडौँ प्लेअफको होडमा कायम

काठमाडौँ, १ वैशाख । काठमाडौं रेजर्सले सोमबार चितवन एफसीलाई २–० ले हराएर तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

दशरथ रङगशालामा दुई विदेशी खेलाडी बाकारी माने र आमोडोउ डियोपले गोल गरे । खेलको ३२ औं मिनेटमा काठमाडौंले बाकारी मानेले लामो दुरीमा प्राप्त फ्रिकिकमा बल सीधै गोलपोस्टमा छिराएर काठमाडौँलाई अग्रता दिलाए । खेलको ७२ औँ मिनेटमा अग्रता दोब्बर पार्यो । डियोपले रिबाउन्डमा गोल गरी काठमाडौँको अग्रता दोब्बर पारे । यसअघि खेलको ५६ औँ मिनेटमा युसुफ मलिकले रातो कार्ड पाएपछि एक गोलले पछाडि परेको चितवन समस्यामा परेको थियो । काठमाडौँले एक खेलाडी बढी भएको फाइदा उठाउँदै दोस्रो गोल गरेको हो ।

पछिल्ला पाँच खेलमा मात्र एक जित हात पारेको पहिलो संस्करणको विजेता काठमाडौँलाई प्लेअफको सम्भावना कायम राख्न आज जित्नैपर्ने बाध्यता थियो । लिग चरणमा आप्mनो अन्तिम खेलमा जित प्राप्त गरी काठमाडौँले आठ अङक बनाएको छ । अब काठमाडौँको प्लेअफमा पुग्ने भाग्य अन्य टिममा निर्भर हुनेछ । चितवन भने आजको जितले प्ल्ेअफमा पुग्ने समीकरण थियो । तर चितवन हारपछि सात अङकमै सीमित बनेको छ । अब प्लेअफमा पुग्न चितवनले धनगढी एफसीविरुद्धको खेलमा सकारात्मक नतिजा निकाल्नुपर्नेछ ।