सगरमाथा क्षेत्रमा पर्यटकको ओइरोः वसन्त ऋतुसँगै चहलपहल बढ्यो
सोलुखुम्बु, ३ वैशाख । हिउँका अग्ला पर्खालहरूले घेरिएको, मौलिक शेर्पा संस्कृतिको सुगन्ध फैलिएको र मनमोहक हिमाली दृश्यले भरिपूर्ण सगरमाथा क्षेत्रले हजारौँ पर्यटकलाई आकर्षित गरिरहेको छ।
वसन्त ऋतुको आगमनसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत चैत महिनामा मात्रै १२ हजार ३ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्।
निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार, यो याम हिमाल आरोहण, पदयात्रा (ट्रेकिङ) र हिमाली दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो। “यो समय हिमाल आरोहण र दृश्यावलोकनका लागि उत्तम हो, त्यसैले विदेशी र स्वदेशी पर्यटक आउने क्रम जारी छ,” रेन्जर श्रेष्ठले भन्नुभयो, “पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ।”
पर्यटकको चाप बढेसँगै खुम्बु क्षेत्रका होटल, लज र अन्य व्यावसायिक गतिविधिहरू पनि तीव्र भएका छन्। हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटलहरू पर्यटकले भरिभराउ छन्।
हवाई र सडक दुवै मार्गबाट सगरमाथाको यात्रा विगतमा सगरमाथा क्षेत्र पुग्ने प्रमुख माध्यम लुक्लाको हवाई यात्रा नै थियो। मौसम अनुकूल हुँदा काठमाडौँ र रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला विमानस्थल ओर्लिन्छन्। तर, हालका वर्षहरूमा सडक सञ्जाल विस्तार हुँदै लुक्ला नजिकै पुगेकाले गाडीबाट पनि सगरमाथाको काखमा पुग्न सम्भव भएको छ।
मौसम प्रतिकूल भई हवाई उडान अवरुद्ध हुँदा पर्यटकहरूले वैकल्पिक सडक मार्ग प्रयोग गर्न थालेका छन्। यातायात व्यवसायीहरूका अनुसार, पर्यटकहरू काठमाडौँबाट जिप रिजर्भ गरी खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन्। सल्लेरीबाट भने बोलेरो गाडीमार्फत लुक्ला नजिकैको कच्ची सडक मार्ग रहेको सुर्केसम्म यात्रा गर्छन्।
“मौसम बिग्रिएर हवाइ उडान प्रभावित हुनसाथ सल्लेरी हुँदै सुर्के जाने विदेशी पर्यटकको संख्या ह्वात्तै बढ्छ, जसले सल्लेरी र फाप्लुका होटलहरू भरिन्छन्,” यातायात व्यवसायी रामबहादुर बराइलीले बताउनुभयो। सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप जान नसक्ने र बोलेरो नै प्रयोग गर्नुपर्ने चालक सन्तोष तामाङको भनाइ छ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले लुक्ला नजिक सडक पुग्नुलाई सकारात्मक भन्दै यसले बारम्बार मौसमका कारण अवरुद्ध हुने हवाई उडानको भरपर्दो विकल्प दिएको बताउनुभयो। यद्यपि, पर्यटन व्यवसायी तेम्बाछिरिङ शेर्पाका अनुसार, कतिपय पर्यटक सीमित भिसा अवधिमा आउने भएकाले लुक्लाको मौसम अनिश्चित हुँदा अन्यत्रै मोडिन्छन्।
निकुञ्जमा उत्साहजनक पर्यटक आगमन र यसको महत्व
विसं २०३२ मा स्थापित सगरमाथा राष्ट्रिय निकुञ्ज १,१४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुप्से, चोयु जस्ता ८ हजार मिटरभन्दा अग्ला र अन्य ६ हजार मिटरभन्दा अग्ला दर्जनौं हिमशिखरहरू पर्दछन्। सन् १९७९ देखि विश्व सम्पदा सूचीमा र सन् २००७ देखि यहाँका गोक्यो तालहरू रामसार सूचीमा समावेश छन्।
यो निकुञ्ज जैविक विविधतामा पनि उत्तिकै धनी छ। यहाँ गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, भोजपत्र, लालीगुराँस जस्ता वनस्पति; कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा जस्ता दुर्लभ वन्यजन्तु; र डाँफे, कालिज जस्ता १९३ प्रजातिका चराहरू पाइन्छन्। तेङ्वोचे, थामे जस्ता प्रसिद्ध गुम्बाहरूले यस क्षेत्रको सांस्कृतिक महत्व बढाएका छन्। पर्वतारोहण, पदयात्रा, हिमाली दृश्य, शेर्पा संस्कृति र जैविक विविधता अवलोकनका लागि यहाँ वर्षेनी हजारौं पर्यटक आउँछन्। फागुनदेखि जेठ र असोजदेखि मंसिरसम्म पर्यटक आउने मुख्य याम हो।
नौ महिनामा ४४ हजारभन्दा बढी पर्यटक, ११ करोड राजस्व
चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा कुल ४४ हजार ६०८ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यस अवधिमा निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट रु ११ करोड ३२ लाख ९ हजार १०० राजस्व संकलन गरेको छ। भ्रमण गर्नेमा ३७,७९६ विदेशी (३,९९६ सार्क र ३३,८०० अन्य देशका) र ५,८९७ नेपाली नागरिक रहेका छन्।
बढ्दो आगमनसँगै दिगो पर्यटनको आवश्यकता
हाल दैनिक ४०० भन्दा बढी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरिरहेका छन्। पर्यटकको बढ्दो आगमनले स्थानीय अर्थतन्त्रलाई टेवा पुगेको छ, तर यसले वातावरणीय चुनौतीहरू पनि थपेको छ।
पर्यटन विज्ञ आङछिरिङ शेर्पा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुहुन्छ। “सगरमाथा नेपालको गौरव हो। यसको अद्वितीय सौन्दर्यको अनुभव जीवनमा एकपटक गर्नैपर्छ भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छ, तर त्यो दिगो रूपमा हुनुपर्छ,” उहाँले भन्नुभयो। रासस