आगामी नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्रीसमक्ष एमालेद्वारा सुझाव पेस

काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विषयगत सुझावहरू पेस गरेको छ।
एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गर्नुभएको हो।
सुझावपत्र बुझाएपछि महासचिव पोखरेलले एमालेले ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै पनि यस्तै सुझाव दिएको तर अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेको सन्दर्भमा ती समावेश हुन नसकेकाले हाल तिनलाई ताजगीकरण गरी पुनः पेस गरिएको जानकारी दिनुभयो।
उहाँले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझावहरू समेत कार्यान्वयन हुन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
सुझाव ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्पष्ट दृष्टिकोण (भिजन) भएको एमालेजस्ता पार्टीले केन्द्रीय विभागहरूको राय समेटेर दिएका सुझावहरू सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि महत्त्वपूर्ण र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।