ढल्केबर सबस्टेसन आगलागी: कार्यकारी निर्देशक शाक्य सहितको उच्चस्तरीय टोली पुग्याे
काठमाडाैं। ४ वैशाख । बुधबार नेपाल विद्युत् प्राधिकरणको महत्त्वपूर्ण ढल्केबर सबस्टेसनमा आगलागी भएपछि घटनाको अध्ययन तथा निरीक्षणका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्चस्तरीय टोली बिहीबार घटनास्थल पुगेको छ।
टोलीले आगलागीको प्राविधिक कारण, त्यस क्षेत्रको विद्युत् माग र आपूर्तिको वर्तमान अवस्था तथा यस्ता घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने दीर्घकालीन समाधानका उपायहरू पहिल्याउने उद्देश्य राखेको छ।
कार्यकारी निर्देशक शाक्यले प्राधिकरणका पुराना वितरण पूर्वाधारहरू लामो समयदेखि सामान्य मर्मतसम्भारको भरमा चलिरहेको स्वीकार्दै अब दिगो र भरपर्दो विद्युत् आपूर्तिका लागि आवश्यक मर्मतसम्भार, स्तरोन्नति र नयाँ संरचना जडान कार्यलाई प्राथमिकता दिइने बताउनुभयो।
भविष्यमा यस्ता दुर्घटना हुन नदिन विस्तृत अध्ययन गरिने उहाँको भनाइ छ।
ढल्केबर देशकै सबैभन्दा ठूलो सबस्टेसन हो, जहाँ ४०० केभी, २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभी क्षमताका अलग-अलग खण्डहरू छन्। प्राधिकरणका अनुसार, बुधबार आगलागी भएको खण्ड १३२/३३/११ केभीको मात्र हो, जुन वि.सं. २०४२ सालतिर निर्माण भएको सबैभन्दा पुरानो संरचना हो। ४०० केभी र २२० केभी जस्ता महत्त्वपूर्ण र नयाँ खण्डहरूमा कुनै क्षति नपुगेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो।
बुधबार बिहान करिब ७:३० बजे १३२/३३/११ केभी खण्डमा जडित करेन्ट ट्रान्सफर्मर (सीटी) पड्किएर आगलागी हुँदा त्यस सबस्टेसनबाट विद्युत् आपूर्ति हुने धनुषा, महोत्तरी र सिन्धुलीका विभिन्न क्षेत्रहरू प्रभावित भएका थिए।
ढल्केबर सबस्टेसन नेपालको राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिन्छ र यसले पश्चिममा चन्द्रनिगाहपुर हुँदै काठमाडौंसम्म विद्युत् प्रवाह गर्दछ। साथै, भारतसँग विद्युत् आयात-निर्यात गर्ने मुख्य विन्दु (ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन) पनि यही सबस्टेसन हो। ४०० केभी सबस्टेसनको उद्घाटन २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो, जुन बेला शाक्य नै प्राधिकरणको कार्यकारी निर्देशक हुनुहुन्थ्यो।