नीति तथा कार्यक्रम

जेन-जी पुस्तालाई स्टार्टअपमार्फत उद्यमशीलता र रोजगारीको अवसर दिइने

काठमाडौँ, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत जेन-जी (युवा) पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना र आयआर्जनका अवसर बढाउने उद्देश्यले यो कार्यक्रम ल्याउन लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै व्यावसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई एकीकृत गरी जेन-जी पुस्तालाई विशेष प्राथमिकता दिइने बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत युवा पुस्तालाई स्टार्टअप उद्यममा लाग्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो नीतिले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा सरकारले लिएको छ ।