प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित
काठमाडौँ, २१ वैशाख । देशभरिको प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण भिजिबिलिटी (दृश्य क्षमता) कम हुँदा मुलुकको हवाई उडान सेवा प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलहरूमा उडानहरू अवरुद्ध भएका हुन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले खराब मौसम र कम भिजिबिलिटीका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर परेको जानकारी दिनुभयो। बिहान मौसमकै कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एयरको जहाज भारतको बनारस डाइभर्ट गरिएको थियो भने आन्तरिकतर्फ बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पनि डाइभर्ट भएको थियो।
यसैगरी, रामेछापबाट लुक्लाका लागि उडेका समिट एयर र तारा एयरका तीनवटा जहाज लुक्लाको मौसम खराब भएका कारण डाइभर्ट भएका छन्। नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क उडान पनि डाइभर्ट भएको प्रवक्ता शेर्पाले बताउनुभयो।
वर्षा रोकिएपछि काठमाडौँ विमानस्थल र अन्य क्षेत्रीय विमानस्थलहरूबाट उडानहरू क्रमशः सामान्य हुँदै गए पनि दुर्गम क्षेत्रका विमानस्थलहरूमा भने केही उडान अझै अवरुद्ध रहेको जनाइएको छ।