धनकुटामा बस दुर्घटना: एक जनाको मृत्यु, १४ घाइते, तीनको अवस्था गम्भीर
काठमाडाैं, २२ वैशाख । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
प्रहरीका अनुसार, को १ ख २१७७ नम्बरको बस आज बिहान करिब १०:१५ बजे धनकुटा नगरपालिका–६, गोठगाउँस्थित कोशी लोकमार्गमा सडकबाट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ निवासी ७३ वर्षीया कृष्णकुमारी राईको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
अन्य घाइतेहरूको पनि उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको छ।
घाइते हुनेहरूमा:
सूर्यमणि तामाङ (षडानन्द नपा–१३, भोजपुर)
अनमोल तामाङ (षडानन्द नपा–१३, भोजपुर)
कृष्ण राउत (बराहक्षेत्र नपा–२, सुनसरी)
रुद्र तामाङ (बस चालक, धरान उपमनपा–१३, सुनसरी)
गङ्गाप्रसाद सापकोटा (पौवादुङमा गापा–३, च्याङग्रे, भोजपुर)
सविना बराइली (भोजपुर नपा–११)
देवी टविक (भोजपुर नपा–११)
हंशबहादुर राई (साँगुरीगढी गापा–६, धनकुटा)
पुर्णमाया तामाङ (षडानन्द नपा–११, भोजपुर)
लिलाबहादुर श्रेष्ठ (भोजपुर नपा–११)
दीर्घमाया राई (साँगुरीगढी गापा–६, धनकुटा)
आयुष राई (इटहरी)
धनकुमार विक (धनकुटा–६)
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।