सतुंगलको व्यापारिक कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं, १ जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक कम्प्लेक्समा बिहीबार बिहान आगलागी भएको छ।

काठमाडौं प्रहरी परिसरले जनाएअनुसार, बिहान ५:२५ बजे उक्त कम्प्लेक्समा रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले आगो निभाउने काम भइरहेको जानकारी दिएका छन्।
आगो निभाउन नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरी बलका ४० जना गरी कुल ७० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

साथै, चन्द्रागिरि नगरपालिकाको १, नेपाली सेना विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १ जुद्ध बारुणयन्त्रबाट २ र ललितपुर महानगरपालिकाबाट १ गरी कुल ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।