मन्त्रिपरिषद् बैठक बस्दै, आजै गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्रीको सचिवालयले आजको बैठक नियमित भएको जानकारी दिएको छ ।

आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयले प्रवेश पाउन सक्ने बलियो सम्भावना रहेको छ ।

सरकारले गत बुधबार नै गभर्नर सिफारिस समिति गठन गरिसकेको थियो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा पूर्व गभर्नर डा. महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन् ।

समितिको बैठक पनि आजै बसेर गभर्नरका लागि सम्भावित तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने तयारी रहेको बुझिएको छ ।

समितिले सिफारिस गरेका तीन जनामध्येबाटै एक जनाको नामलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरी गभर्नरमा नियुक्त गर्नेछ ।