बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी, १५ असोज । पछिल्लो वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको मर्मत सुरु गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम र बेनी दुवैतर्फबाट सडक मर्मत थालेको हो ।

आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्मको सडक मर्मत भइसकेको छ । कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म तथा जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्मको सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक मर्मतका लागि सडक विभाग, जलविद्युत् आयोजना तथा निर्माण व्यवसायीका उपकरण र मजदुर परिचालन गरिएको छ ।

यसैबीच, असोज ११ गते कालीगण्डकीको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मतसमेत बिहीबारदेखि सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख शर्माले बताउनुभयो । सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक नाका कोरला जोड्ने यातायात सम्पर्कसमेत प्रभावित भएको छ ।

कोरला नाकाबाट सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि मुस्ताङ तथा म्याग्दीका अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ र आलु बजारसम्म पठाउन समस्या भएको छ भने दसैँका लागि भेडाच्याङ्ग्रा बिक्रीका लागि लैजानसमेत कठिनाइ भएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटकीय गतिविधिसमेत प्रभावित भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

आयोजनाले कटिङ, फिलिङ, डाइभर्सन तथा नयाँ मार्ग खोल्नेलगायत विकल्प प्रयोग गरी सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा भने सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक रहेको स्थान कालीगण्डकीले कटान गरेपछि नदी आयोजनाको स्वीचयार्ड नजिकैबाट बगिरहेको छ ।

सडक खुलाउन स्वीचयार्डमा प्रयोगमा नरहेका वैकल्पिक दुईवटा टावर हटाउनुपर्ने अवस्था रहेको छ । टावर हटाउनका लागि राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतका लागि आवश्यक इन्धन आपूर्तिलाई सहज बनाउने प्रयाससमेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *