संसदमा सामाजिक सुरक्षा कोष, आर्थिक संकट र गभर्नर नियुक्तिबारे बहस
काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अनौपचारिक क्षेत्रका करिब ४० लाख श्रमिकलाई कोषमा आबद्ध गराउन सरकारले सहलगानीको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नुभयो । “अनौपचारिक क्षेत्रका झण्डै ४० लाख श्रमिकलाई कोषमा जोड्न सहयोगदानमा आधारित प्रक्रिया अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि प्रत्येक महिना श्रमिक वा योगदानकर्ता र सरकारले रकम जम्मा गर्ने प्रावधानअनुसार हुनुपर्छ । यसले श्रमिक आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्छ ।”
सांसद बर्तौलाले हुम्लाको तिलगाउँमा हिमताल फुटेर गएको पहिरोबाट पीडित बासिन्दाको तत्काल उद्धार, पुनःस्थापना र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी पूर्वतयारीमा जोड दिनुभयो ।
विशेष समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले देशको आर्थिक संकट समाधान गर्न, ऋणीहरूलाई राहत दिन, बैंकहरूको मनोमानी रोक्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
सांसद चौधरीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति आपत्ति जनाउँदै राष्ट्र बैंक ऐन २०५८ को दफा २५ बमोजिम बहालवाला गभर्नरको कार्यकाल समाप्त हुन एक महिनाअगावै नियुक्ति गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै कारबाहीको माग समेत गर्नुभयो ।