कन्सल्टेन्सीले विदेशमा कामदार पठाए कारबाही हुने वैदेशिक रोजगार विभागको चेतावनी

काठमाडाैं, १० जेठ । वैदेशिक रोजगार विभागले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लगायत अन्य कुनै पनि अनाधिकृत संस्थाले नेपाली नागरिकलाई श्रमिकका रूपमा विदेश पठाएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले स्पष्ट पारेको छ कि वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कुनै व्यक्ति वा संस्थाले कामदार विदेश पठाउने वा त्यससम्बन्धी प्रक्रिया अघि बढाएमा कानुनबमोजिम कारबाही गरिनेछ।

विभागले एक सूचना जारी गर्दै भनेको छ, “केही व्यक्तिहरू, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्थाहरू, र भाषा सिकाउने केन्द्रहरूले नेपाली श्रमिकलाई विदेश पठाइदिने भन्दै सूचना जारी गर्ने, राहदानी र अन्य कागजातहरू संकलन गर्ने, तथा नक्कली कागजात बनाएर विदेश पठाउने जस्ता गतिविधिमा संलग्न भएको भनी विभागमा उजुरी तथा जनगुनासोहरू आइरहेका छन्।” यस्तो गैरकानूनी कार्यमा संलग्न नहुन र अरुलाई पनि संलग्न नगराउन विभागले सबै सम्बन्धित पक्षलाई सचेत गराएको छ।

विभागले स्मरण गराएअनुसार, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउनका लागि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएको इजाजत प्राप्त संस्था हुनु अनिवार्य छ।

हालै भिजिट भिसामा कामदार पठाउने नाममा मोटो रकम असुल्ने कार्यमा अध्यागमनका कर्मचारीहरू समेत मुछिएको घटना सार्वजनिक भएपछि विभागले यो कडा कदम चालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *