बाजुरामा टेलिकमको गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते
बाजुरा, १३ जेठ । नेपाल टेलिकमको गाडी बाजुरामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका–२ मा दुर्घटनामा परेको हो ।
उक्त गाडीमा सवार ५ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) इकवाल हवारीले जानकारी दिए । “मृत्यु हुनेमा टेलिकमका कर्मचारी हुन्, सनाखत हुन बाँकी छ,” डिएसपी हवारीले भने ।
घाइते हुनेहरूमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा रहेका छन् । उनीहरूको उपचारका लागि कोल्टी पठाइएको प्रहरीले जनाएको छ ।