अन्नपूर्ण आरोहणको हीरक जयन्तीमा सहभागी हुन प्रधानमन्त्री ओली नारच्याङमा
म्याग्दी, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ आइपुग्नुभएको छ। उहाँ अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव (हीरकमहोत्सव) को अवसरमा स्थानीय गाउँपालिकाद्वारा आयोजित विशेष समारोहमा सरिक हुन त्यहाँ पुग्नुभएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार, फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिखमा पहिलोपटक ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको थियो। सो ऐतिहासिक आरोहणको ७५ वर्षगाँठको विशेष अवसरमा आज हीरक महोत्सव मनाइँदैछ। यस महोत्सवमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्ग, एक खुला सङ्ग्रहालयको उद्घाटन गर्नुका साथै पर्वतारोहीहरूको सम्मानमा निर्मित सालिकहरूको अनावरण गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा पनि सहभागी हुनुहुन्छ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको संगमस्थलमा अवस्थित ८,०९१ मिटर उचाइको अन्नपूर्ण हिमालको आरोहण मार्ग तथा आधार शिविर म्याग्दी जिल्लाअन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं. ४, नारच्याङको भौगोलिक क्षेत्रमा पर्दछन्। आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये सर्वप्रथम मानव पाइला परेको हुनाले अन्नपूर्णलाई ‘जेठो हिमाल’का रूपमा पनि चिनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको थियो, जुन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणभन्दा तीन वर्ष पहिलो घटना हो।
अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले नेपालको पर्यटन विकास र पर्वतारोहणको यात्रा सुरु गर्दै हिमाललाई विश्वमा परिचित गराएको महत्वपूर्ण दिनको स्मरणमा आज विभिन्न कार्यक्रमसहित अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार, आरोहणको ७५औँ वर्षगाँठको अवसरमा पहिलोपटक अन्नपूर्ण हिमालकै काखमा हीरक जयन्ती मनाउन लागिएको हो र यसका लागि सम्पूर्ण तयारी सकिएको छ। यसअघि यस्ता दिवसहरू काठमाडौँ, पोखरा वा कास्कीतर्फको आधार शिविर क्षेत्रमा मनाइने गरिन्थ्यो। यही जेठ १७ गतेदेखि प्रारम्भ भएको यो अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा पुगेर समापन हुनेछ।