पतञ्जलि जग्गा प्रकरणमा याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि भ्रष्टाचार मुद्दा
काठमाडौं, २३ जेठ । पतञ्जलि योगपीठलाई जग्गा दिने क्रममा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिवादीहरूमा चर्चित होटल याक एण्ड यतीका संस्थापक, मृतक राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि समावेश छन्।
अख्तियारको अभियोगपत्रअनुसार, सराफ बाबुछोराले हदबन्दीभन्दा बढीको जग्गा आफ्नो कम्पनी ‘चौताराम प्रालि’ को नाममा दर्ता गराई पछि पतञ्जलि योगपीठलाई हस्तान्तरण गरेको देखिएको छ।
चौताराम प्रालिको सञ्चालकको हैसियतमा राधेश्यामलाई प्रतिवादी बनाइएको हो।
राधेश्याम सराफको यसअघि नै निधन भइसकेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनको हकमा लाग्ने बिगो असुल गर्ने प्रयोजनका लागि छोरा अरुण कुमार सराफलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
राधेश्याम याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक थिए। अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरूबाट ५१ लाख रुपैयाँ बिगो असुल गरी कैद सजायको माग गरेको छ।