‘नेपाली–नेपालभाषा शब्दकोश’ विमोचन, भाषा र संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास

नेपाली र नेपालभाषाबीचको भाषिक सम्बन्ध सुदृढ बनाउँदै भाषा, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षणमा शब्दकोशले योगदान पुर्‍याउने विश्वास।

काठमाडौं । नेपाली र नेपालभाषाबीचको भाषिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले तयार पारिएको ‘नेपाली–नेपालभाषा शब्दकोश’ सार्वजनिक गरिएको छ।

नेपाल–नेपालभाषा शब्दकोश विमोचन प्रकाशन समितिको आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा शब्दकोश विमोचन गरेका हुन्। नेपाल संवत् ११४७ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शब्दकोश सार्वजनिक गरिएको हो।

शब्दकोशका संकलक सुरेन्द्र महर्जन हुन्। लामो समयको मेहनत र लगनशीलताबाट तयार पारिएको यस शब्दकोशले नेपाली र नेपालभाषाबीचको शब्दगत सम्बन्ध बुझ्न तथा दुवै भाषाको अध्ययन र प्रयोगलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कुनै पनि भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि शब्दकोशको प्रकाशन महत्त्वपूर्ण हुने बताए। उनले शब्दकोशले नेपाली र नेपालभाषाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै भाषिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

शब्दकोशका संकलक महर्जनले शब्दकोश तयार पार्दाको अनुभव र यसको महत्त्वबारे प्रकाश पार्दै निर्माण कार्यमा सहयोग पुर्‍याउने नेपाल प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह तथा सहकर्मीहरूप्रति आभार व्यक्त गरे।

काठमाडौं उपत्यकाको ऐतिहासिक भाषा नेपालभाषाको संरक्षण, अध्ययन र पुस्तान्तरणका लागि शब्दकोशजस्ता सामग्रीको प्रकाशन महत्त्वपूर्ण हुने सहभागीहरूले बताए। नेपाली र नेपालभाषाका शब्द तथा तिनको अर्थबारे जानकारी प्राप्त गर्न सहज बनाउने यस्ता प्रकाशनले भाषिक अध्ययन र आपसी समझदारी अभिवृद्धिमा सहयोग पुर्‍याउने उनीहरूको विश्वास थियो।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, शिव शाही, रितेश मल्ल, रवि डंगोल ‘बेइमान’, राजेन्द्र डंगोल, बीएस ताम्रकार र रश्मी डंगोललगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा नेपालभाषा प्रशिक्षकहरूको उपस्थिति थियो।

वक्ताहरूले नेपालको भाषिक विविधतालाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै नेपाली र नेपालभाषाबीचको भाषिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता प्रकाशनले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *