उमेरलाई जडसूत्रका रूपमा हेर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ७० वर्षे उमेरहदको प्रावधान ‘फेल’ भइसक्यो

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लामो समयदेखि बहसको विषय बनेको ७० वर्षे उमेरहदको प्रावधान ‘फेल’ भइसकेको र अब असान्दर्भिक रहेको टिप्पणी गर्नुभएको छ।

अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले नेतृत्व चयनमा उमेरभन्दा पनि व्यक्तिको स्वास्थ्य, कार्यक्षमता र आवश्यकता प्रमुख हुनुपर्नेमा जोड दिनुभयो।
आफ्नै उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो। अहिले म ७४ वर्षमा चलिरहेको छु, के यो फेल खाएन र?” उहाँले उमेरलाई जडसूत्रका रूपमा हेर्न नहुने बताउनुभयो।

उहाँले चीनका राष्ट्रपति सी चिनफिङको उदाहरण दिँदै आवश्यकताका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले उमेर र कार्यकालको हदबन्दीलाई परिवर्तन गरेको स्मरण गराउनुभयो। “सी चिनफिङको नेतृत्वको आवश्यकता देखेर नियम परिवर्तन गरियो, उहाँ अहिले ७२ वर्ष पुग्नुभयो,” उहाँले भन्नुभयो।

त्यसैगरी, प्रधानमन्त्री ओलीले पार्टीका पूर्वनेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई ७० वर्ष पुगेका कारण नभई अन्य राजनीतिक कारणले हटाउनुपरेको जिकिर गर्नुभयो। उहाँले स्वर्गीय नेता मनमोहन अधिकारीलाई भने ७८ वर्षको उमेरसम्म पनि पार्टीले नेतृत्वबाट नहटाएको प्रसङ्ग उल्लेख गर्दै नेतृत्वको आवश्यकता उमेरको अङ्कले मात्र निर्धारण नहुने तर्क प्रस्तुत गर्नुभयो।