त्रिभुवन विश्वविद्यालयमा तोडफोड , नेविसंघका विद्यार्थी नेता दिक्पाल कार्की पक्राउ

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति र रेक्टरको कार्यालयमा तोडफोड तथा तालाबन्दी गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सँग आबद्ध एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले नेविसंघका दिक्पाल कार्कीलाई भक्तपुरको सानोठिमीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो।
गत जेठ १४ गते, स्नातक तह पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै त्रिवि पुगेको नेविसंघका विद्यार्थी नेताहरूको समूहले उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो। सोही समूहले रेक्टरको कार्यालयमा तालाबन्दी समेत गरेको थियो। उपकुलपति आफ्नो कार्यकक्षमा नभएको समयमा उक्त तोडफोडको घटना भएको थियो।
उक्त घटनामा संलग्न भएको अभियोगमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताइएको छ।