वीरगञ्ज भन्सारमा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा, २ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिनुभयो । ‘‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’’ उहाँले भन्नुभयो,‘‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’

कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो ।

भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *