संसद् अवरोधबारे सभामुखको आग्रह : ‘आन्दोलनको स्वरूप बदल्नुहोस्, बजेट पारित गर्नैपर्छ’

काठमाडौँ, २ असार । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको स्वरूप परिवर्तन गरेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण अब संसद्लाई अनिश्चितकालसम्म रोकेर राख्न नसकिने उहाँले स्पष्ट पार्नुभएको छ ।

आइतबार बिहान सभामुख निवास बालुवाटारमा भएको भेटमा उहाँले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई यस्तो आग्रह गर्नुभएको हो ।
“दुई सातादेखि संसद् बन्धक बनेको छ, यो बजेटमाथि व्यापक छलफल गरी समृद्ध बनाउने समय हो,” सभामुख घिमिरेले भन्नुभयो, “अवरोधले जनतामा गलत सन्देश गएको छ । विपक्षीका माग गम्भीर छन् भनेरै मैले दुई साता कुरेँ, तर अब रोक्ने अवस्था छैन ।”

उहाँले राष्ट्रियसभाले असार ५ गतेभित्र विनियोजन विधेयक पठाइसक्न समय तोकेको स्मरण गराउँदै जुनसुकै हालतमा बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “संवैधानिक सीमा र बाध्यता बुझिदिनुहोस्, बरु सरकारसँग संवादका लागि म सहजीकरण गर्न तयार छु ।”

जवाफमा रास्वपाका नेताहरूले सरकार आफ्ना मागप्रति गम्भीर नभएकाले संसद् अवरोध गर्न बाध्य भएको बताएका थिए । “हाम्रा माग जनताका वास्तविक समस्या हुन् । सरकार गम्भीर नभएसम्म हामी मुद्दाबाट पछाडि हट्ने अवस्थामा छैनौँ,” कार्यवाहक सभापति अर्यालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “यद्यपि, निकासका लागि हामी छलफल र संवादका लागि तयार छौँ ।”