आलोचनालाई चिर्दै दैलेखमा ग्यास उत्खनन सफल, प्रधानमन्त्री ओलीले सम्झिए पुराना दिन
काठमाडौँ, ६ असार। कुनै बेला विभिन्न आलोचना र शङ्काका बीच अघि बढाइएको दैलेख पेट्रोलियम अन्वेषण परियोजनाले ऐतिहासिक सफलता हात पारेको छ।
दैलेखमा ११२ अर्ब घनमिटर ग्यासको भण्डार भेटिएको खबर सार्वजनिक भएपछि, परियोजनाका सूत्रधार प्रधानमन्त्री केपी शर्मा ओलीले ती पुराना सङ्घर्षका दिनहरू सम्झिँदै खुसी व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो महत्त्वाकांक्षी योजनाले पाएको सफलताप्रति भावनात्मक टिप्पणी गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा यो परियोजना सुरु गर्दा समर्थनभन्दा बढी विरोधका स्वरहरू सुनिएको तर आफू विचलित नभएको सङ्केत गर्नुभयो। “समर्थन र विरोध–आवाज थरिथरिका थिए,” उहाँले लेख्नुभएको छ, “आज आएको यो सुखद समाचारले ती सबै प्रयासलाई सार्थक तुल्याएको छ।”
ओली सरकारले चिनियाँ सहयोगमा थालेको यो परियोजनालाई कतिपयले असम्भव र खर्चिलो भन्दै आलोचना गरेका थिए। तर, आजको यो सफलताले प्रधानमन्त्री ओलीको दूरदृष्टि र अडानलाई सही साबित गरेको छ भने राष्ट्रिय विकासमा एक नयाँ अध्यायको सुरुवात गरेको छ।