चितवन निकुञ्जमा असार १५ देखि जिप सफारी बन्द

चितवन, ९ असार। चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जिप सफारी वर्षायामका कारण यही असार १५ गतेदेखि बन्द हुने भएको छ। मनसुनमा निकुञ्जभित्रका कच्ची सडकमा जिप चलाउन असहज हुने र बाटो बिग्रने भएकाले हरेक वर्ष यो समयमा सफारी बन्द गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, वर्षा सकिएपछि र सडक मर्मत गरिसकेपछि मात्र सफारी पुनः सञ्चालनमा आउनेछ। सामान्यतया असोजको तेस्रो सातातिर सफारी खुला हुने गरे पनि वर्षाको अवस्थाअनुसार समय फरक पर्न सक्छ।

गत वर्ष असार १६ गते बन्द भएको सफारी असोज २४ गते फूलपातीको दिनबाट खुलेको थियो।
निकुञ्जभित्रको सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी नियमित सञ्चालन हुने थापामगरले बताए। साथै, निकुञ्जभित्र पैदलयात्रा (जंगल वाक) र घडियाल प्रजनन केन्द्रको अवलोकन भने खुला रहनेछ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले वर्षायाममा वन्यजन्तुलाई प्रजनन तथा आफ्नो जीवनयापनका लागि शान्त वातावरण दिन र मानवीय गतिविधि कम गर्न विश्वभरिका निकुञ्जहरू केही समय बन्द गरिने प्रचलन रहेको बताए।

यो समयमा बाढी आउने, खोलानाला बढ्ने, रुख ढल्ने तथा झाडी बढेर जनावर हेर्नसमेत कठिन हुने भएकाले सफारी बन्द गर्नु उपयुक्त हुने उनको भनाइ छ।